काठमाण्डौः झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले बम विष्फोट गरेको छ । विफोष्टका कारण नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी समेत पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अज्ञात समुहले आइतबार मध्यराति बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको छ ।
यसैबिच झापाको बिर्तामोड नगरपालिका- २ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा पनि आईतबार मध्य राति नै बम विष्फोट भएको छ ।
सहकारी भवनको मूल गेटमा गरिएको बम विष्फोटका कारण सहकारीको गेट, सुरक्षा गार्ड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा समेत फुटेको छ ।
उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई सोही राति नै नियन्त्रणमा लिएको जनाएको छ ।
प्रधानमन्त्रीको गृहजिल्ला झापाको बिर्तामोड र गौरादहमा भएको बिष्फोटमा टाईमिङ्ग प्रेसर कुकर बमको प्रयोग गरिएको अनुमान गरिएको छ ।
सहारा नेपालले भनेजती चन्दा नदिएको र गौरादह नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र पटक पटक भ्रष्टाचार काण्डमा संलग्न भएको भन्दै कार्बाही स्वरूप उक्त बम बिष्फोट गराइएको हुनसक्ने प्रहरी अनुमान रहेको छ ।
एकै समयमा दुवैतर्फ बम विष्फोट गराइएका कारण विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने धेरैको अनुमान रहेको छ । यद्यपी उक्त घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् ।