प्रारम्भः
प्रधानमन्त्री प्रचण्डजीले ३२ नम्बरलाई जादुको नम्बर मान्दै आफू पूरै अवधि प्रधानमन्त्री बन्ने सार्वजनिक उद्घोष गरेको केही दिनमै सत्ता परिवर्तन हुने भएको छ । लामो समयदेखि नेपाली राजनीतिमा हावी हुँदै आउनुभएको प्रचण्डले पुराना दलका प्रायः सबै नेतालाई आफ्नै एजेन्डामा समावेश गराउने र सौदाबाजी गर्दै आफू प्रधानमन्त्री बनिरहन सफल रहे । उनले भूमिगत अवस्थामा पुग्नुअघि अथवा जनयुद्ध थालनी गर्नुअघिसम्म नेपाली जनतामा खासै प्रभाव पार्न सकेनन् । उनको दल पनि प्रभावी हुन सकेन । २०४६ सालको सफल जनआन्दोलनपश्चात् बहुदलीय शासन प्रणाली स्थापित हुन पुग्यो । यसका मठाधीशमा अत्यन्त ज्यादा सत्ता लिप्सा देखिँदै गयो । ४९ सालको आमनिर्वाचनपश्चात् बहुमतमा रहेको नेपाली कांग्रेस तीन वर्ष पुग्दा नपुग्दै मध्यावधि निर्वाचनमा जानु र उक्त निर्वाचनपश्चात् कुनै पनि दलले प्रायः बहुमत ल्याउन नसक्ने अवस्था बन्दै गयो । ठूलो उत्साहका साथ जनआन्दोलनमा योगदान गरी सफलता हासिल गरेका लोकतन्त्र प्रेमी नेपाली जनता अल्पअवधिमा नै यसरी आफ्ना आदर्श र सिद्धान्तको नेतृत्व गर्ने दलप्रति र यसका नेतृत्व पंक्तिमा रहनेहरूप्रति निराश बन्दै जानुको यो परिणाम हो । बहुमत प्राप्त गर्न नसक्दा जोसुकै र जुनसुकै दलसँग तालमेल गरी मिलीजुली सरकार बनाउने अस्वस्थ प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेले गर्दै गयो । एमालेले वरिष्ठ पञ्च लोकेन्द्रबहादुर चन्द र नेपाली कांग्रेसले स्वर्गीय सूर्यबहादुर थापालाई आफ्नो नेता मान्दै उनीहरूकै नेतृत्वमा सरकारमा जानेजस्ता प्रवृत्तिले निरन्तरता प्राप्त गर्दै गयो ।
पञ्चायती व्यवस्थाविरुद्ध छेडेको जन आन्दोलनको पाँच वर्ष पनि नबित्दै महापञ्चहरूसँगै तालमेल गर्ने यो अनौठो र अपत्यारिलो दृश्य हेर्न लोकतन्त्र प्रेमी नेपाली जनता बाध्य भए । यो राजनीतिक दलबीच संस्कारकै रूपमा विकास हुँदै गयो र यसैको परिणतिका रूपमा कमरेड प्रचण्डले एमाले र नेपाली कांग्रेसलाई हदैसम्म प्रयोग गर्न सफल हुनुभएको अवस्था छ । यसैबाट विश्वस्त हुँदै उनले ३२ नम्बरको अल्पसंख्यलाई जादुको नम्बर बताउने हैसियत प्राप्त गर्नुभएको हो । यसको श्रेय नेपाली कांग्रेस र नेकपा एमालेलाई नै दिनुपर्छ । हाल आएर राष्ट्रिय राजनीतिमा प्रथम र द्वितीय स्थानमा रहेका एक अपासका कडा प्रतिस्पर्धी दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नै गठबन्धनको सरकार बन्ने अवस्था सिर्जना भएको छ । यसका विभिन्न कोणबाट टीकाटिप्पणी हुँदै आएका छन् । यिनै विषयमा प्रस्तुत आलेखलाई केन्द्रित गर्ने प्रयास गरिएको छ ।
प्रचण्ड रणनीतिः
नेपाली कांग्रेस र नेकपा एमाले दुई दलबीच गठबन्धनमा सरकार बन्ने सुनिश्चित भइसकेको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्ना मन्त्रीलाई राजीनामा गराइसकेको छ । यस अवस्थामा प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न सक्ने सम्भावना रहन्न । यद्यपि, प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिएर संसद सामना गर्न दृढ देखिनुभएको छ । यसका पछाडि केही राजनीतिक रणनीति रहेको चर्चा परिचर्चा राजनीतिक वृत्तमा हुन थालेको छ ।
प्रचण्डजीले आफ्नो छवि अत्यन्त धुमिल बनाउनुभएको छ । उहाँको प्रतिबद्धतामा कुनै पनि राजनीतिक दलले विश्वास गर्न नसक्ने अवस्था पटकपटक बनाउँदै आउनुभएको छ । यसबारेमा केही दृष्टान्त दिनु उपयुक्त हुनेछ । देश शान्ति प्रक्रियामा आएपश्चात् तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसादलाई नेपालको प्रथम राष्ट्रपति बनाउने प्रलोभन देखाएर संविधानसभाको पहिलो निर्वाचनमा गिरिजाबाबुलाई आफ्नो दलको प्रचारप्रसारमा समेत ननिस्किने गरी विश्वस्त बनाउनुभयो । निर्वाचनमा आतंकित नेपाली मतदाताले एकपटक खराबलाई नै सत्तामा पठाएर आफू शान्तिका साथ जीवनयापन गर्ने निर्णय लिए । यो निर्णयपश्चात् जब प्रचण्डजी बहुमत प्राप्त गर्न सफल हुनुभयो स्वर्गीय रामराजा प्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवारको घोषणा गर्नुभयो । यसबाट धोकामा परेका टावरिङ व्यक्तित्व गिरिजाप्रसादले डा. रामवरण यादवलाई राष्ट्रपतिमा उठाई विजय बनाउनुभयो । यो शान्ति प्रक्रियामा आएपश्चात् प्रचण्डजीले गर्नुभएको प्रथमपटकको धोखाघडी थियो । यस घटनाक्रमबाट स्वयं प्रचण्डजी पनि पश्चातापमा पर्नुभएको यथार्थता गिरिजा बाबुलाई राष्ट्रपति नबनाएर गल्ती गरेको अभिव्यक्ति आउनुबाट स्पष्ट भएको छ ।
२०७४ सालको आम निर्वाचनमा वामपन्थी एकताको नारा दिँदै प्रचण्डजीले एमालेसँग चुनावी गठबन्धन गर्न पुग्नुभयो । यसबाट झन्डै दुई तिहाइको बहुमत एमाले माओवादीलगायतका गठबन्धनले प्राप्त गरेका थिए । दलमा दुई–दुईवटा अध्यक्ष राखी खुबै मनोरञ्जन नेपाली जनतालाई दिन त्यस समय ओलीजी र प्रचण्डजी सफल भए । तत्पश्चात् ओलीजीलाई विश्वासघात गर्दै नेपाली कांग्रेससँग गठबन्धन गरेर शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिकामा यिनै प्रचण्डजी रहेका थिए ।
२०७९ सालको निर्वाचनमा समेत गठबन्धन गरेका नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीले राम्रो स्थानमा विजय हासिल गर्न सफल भए । पालैपालो प्रधानमन्त्री बन्ने भागबन्डा यी तिनै दलका नेताले गरे । तर, प्रचण्डजी एकाएक बालकोट दरबारको बार्दलीमा पुगेर निर्वाचनमा आफ्नो साख बचाइदिने नेपाली कांग्रेसलाई विश्वाससघात गर्न पुगे । गठबन्धन सरकारले निरन्तरता पाइराखेको थियो । प्रचण्डजी एमालेलाई सभामुख र रास्वपालाई उपसभामुख बनाई नेपाली कांग्रेसमै फर्किए । विस्तारै प्रचण्डजीको प्रधानमन्त्री हुने अवधि सकिँदै थियो । अब कमरेड नेपालजी प्रधानमन्त्री हुने रोलक्रममा रहेका थिए । राष्ट्रियसभाको अध्यक्षसमेत बनाउने रणनीतिका साथ नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा पठायो । प्रचण्डजी आफ्नै भाइ नारायण दाहाललाई सो पदमा विराजमान गराउन चाहन्थे । नेपाली कांग्रेसलाई यस एजेन्डामा सहमत बनाउन सक्ने अवस्था देखेनन् । आफ्नो सकिँदै गएको अवधिले पनि उनलाई झस्काइरहेको थियो । यसैबाट प्रभावित हुँदै नारायण दाहाललाई अध्यक्ष बनाउने र आफ्नो प्रधानमन्त्रीको अवधि थप गर्ने द्वय उद्देश्यका साथ केपी ओलीसँग गठबन्धन गर्न पुगे । केपी ओली र उनका बीच आधाआधा समय प्रधानमन्त्री चलाउने र पहिलोपटक प्रचण्डजी नै प्रधानमन्त्रीमा रहने समझदारी बनाउन र नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन ओलीजीलाई मनाए दुवै एजेन्डामा सफल भए । अब एमालेसँग गठबन्धन गरिरहनुको उपादेयता खासै थिएन । ओलीजीभन्दा शेरबहादुरजीसँग सरकार चलाउन बढी सहज महसुस गरेकै कारण बिस्तारै एकमना सरकार जसैगरी सरकार सञ्चालन गर्न लागे । यो ओलीजीलाई प्रचण्डजीले दिएको दोस्रो धोका थियो । भूमिगत काल, जनयुद्धको समयसम्म आइपुग्दा आफ्नै दलका अग्रज नेताहरू एवं समकक्षी साथीलाई पटकपटक विश्वास घात गर्दै गए । किरण वैद्य, बाबुराम, विप्लव आदि यसका उदाहरण हुन् ।
परिस्थितिले शेरबहादुरजी र ओलीजीलाई एकै ठाउँमा उभिने अवस्था बनायो । कडा प्रतिस्पर्धी ठूला दुई दल नै गठबन्धन बनाई सरकारमा जान तयार भए । अब प्रचण्डजीले अर्को चाल चलिराखेको अनुमान भइराखेको छ । उनको पर्याय नै नेपाली राजनीतिमा विश्वास गर्न नसकिने पात्रका रूपमा रहेको सर्वत्र आलोचना भइराखेको छ ।
प्रचण्डजी अत्यन्त अल्पमतमा रहेको अवस्थामा पनि विश्वासको मत लिन किन अघि बढ्नुभएको त ? सर्वत्र चासोको विषय छ । यसका पछाडि दुईवटा कारण हुन् सक्छन् । पहिलो हो ओलीजीलाई प्रधानमन्त्री बन्नबाट रोक्नु, दोस्रो हो आफ्ना अभिव्यक्ति सदनमा स्पष्टता साथ राख्नु यो दोस्रो प्रयोजनका लागि राजीनामा दिएर पनि सदनमा आफ्ना कुरा राख्न सकिने अवस्था हुन्थ्यो । तर, उनले ६३ सिट मात्र आफ्नो पक्षमा रहेको स्थितिमा विश्वासको मत लिने निर्णय गर्नुको पछाडि ओलीजीलाई प्रधानमन्त्री बन्नबाट रोक्नु नै हो भन्ने अनुमान सबैतिरबाट भइराखेको छ । के यो सम्भव छ त ? दुई दलहरूको संख्या नै सरकार बन्न पर्याप्त छ । अन्य साना दलसमेत सरकारमा जान आतुर छन् । शेरबहादुरजीलाई आफ्नो वचनमा पक्का भएको नेताका रूपमा चित्रण गरिन्छ । यस अर्थमा नेपाली कांग्रेसले ओलीजीलाई आफू प्रधानमन्त्री हुने मूल्यमा सहजै धोका दिने अवस्था देखिँदैन । यो सन्दर्भमा देउवाजीले प्रचण्डजीलाई स्पष्ट पारिसक्नुभएको छ । तर, पनि प्रचण्डजी आफ्नो अडानबाट कति पनि विचलित नभई विश्वासको मत लिने पक्षमा अडिक हुनुहुन्छ । यसका पछाडि संवैधानिक प्रावधानलाई समाएर उनले आफ्नो अधिकार प्रयोग गरेको भनिँदै छ । अर्कोतर्फ दुई वा दुईभन्दा बढी दलको मिलिजुली सरकार बनेको अवस्थामा त्यस्तो प्रधानमन्त्रीले विश्वासको मत आर्जन गर्न नसक्दा स्वतः सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने स्थिति सिर्जना हुन्छ ।
देशको भविष्य वर्तमान राजनीतिक बजारमा देखिएका दलहरू र पात्रहरूबाट देखिएको छैन
यही कारणले ओलीजी प्रधानमन्त्रीबाट पछि हट्नुपर्ने अवस्था बन्दै शेरबहादुरजी प्रधानमन्त्री बन्न सक्नुहुनेछ । यो अहिलेको प्रचण्डजीको रणनीति भएको आँकलन गरिएको छ । तर, संविधानको शाब्दिक अर्थ र आशय दुवैको व्याख्या गर्नुपर्नेहुन्छ । यस अर्थमा दुई वा दुईभन्दा बढी दलको सरकार बनेसम्म सबैभन्दा ठूलो दलको नेतालाई सरकारको नेतृत्व दिने अवस्था नआउने तर्क संविधानविद् गरिराखेका छन् । यद्यपि, यसमा दुवै पक्षका पैरवीहरू र तर्कहरू सम्प्रेषित भइराखेको अवस्था छ । राष्ट्रपतिले यसबारेमा निर्णय लिनुपर्नेहुन्छ । नेपाली कांग्रेसले दुई पक्षीय समझदारीमा इमानदारिता देखाउने अवस्थामा राष्ट्रपतिले ओलीजीलाई नै प्रधानमन्त्री बनाउनेछन् यसमा कुनै सन्देह रहँदैन । तर, तत्पश्चात् यो मामिलाले अदालतमा प्रवेश पाई संविधानको व्याख्या हुनेछ र ओलीजीको प्रधानमन्त्रीको वैधताको परीक्षण हुने अवस्था बन्छ । प्रचण्डजीको गन्तव्य यही हो ।
रास्वपा राजनीतिले साख गिराउँदै
संयुक्त राज्य अमेरिकाबाट नेपाल फर्किंदै पत्रकारिता पेसा अवलम्बन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका वर्तमान अध्यक्ष रविजीले पत्रकारिता पेसामा आफूलाई अब्बल प्रमाणित गरे । यसबाट आर्जित जनविश्वासका आधारमा प्रोत्साहित हुन पुगेका रविजीले दुईवटा रणनीति अवलम्बन गरेको देखिन्छ । राजनीतिमा प्रवेश गर्ने चाहना राख्दै गर्दा उनले स्रोतसाधनको व्यवस्थापन गर्नुपर्ने अवस्था देखे । जीबी राईले सहकारीमार्फत ठूलो मात्रामा रकम संग्रह गरेका थिए । तर, उनलाई कसैले पनि चिन्दैन थियो । रविजीसँग आफ्नो पहिचान स्थापित भइसकेकाले रकमको आवश्यकता थियो । त्यसैले रविजी, जीबी राई गठबन्धन बन्यो र गोरखा मिडियामार्फत सहकारीका रकम संकलन गर्ने कार्य भयो । स्रोतसाधन र आफ्नो प्रख्यातिका आधारमा राजनीतिलाई अघि बढाउन रविजी तयार भई चितवनलाई आफ्नो विधान क्षेत्र बनाए । शालिग्राम पत्रकारको आत्महत्या प्रकरणमा रविजीलाई सरकारले कारबाही गर्दा चितवनका जनताले ठूलो सहयोग प्रदान गरे यसबाट रविजीको आकर्षण चितवनप्रति बढ्दै गयो र उही स्थानबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजयी भए । रविजीले राजनीतिमा प्रवेश गर्नुपूर्व अमेरिका रहँदाको अवस्थामा गरेका कामकारबाही र उहाँका व्यक्तिगत मामिला’bout अहिले विश्लेषण नगरौं । तर, उनीबाट क्रमशः हुँदै गएका थुप्रै विवादास्पद कार्यहरूको विश्लेषण हुनु अत्यावश्यक छ ।
रविजी अमेरिकामा रहनु हुँदा अमेरिकन नागरिकता लिई राहदानीसमेत अमेरिकाकै प्रयोग गरिएको अवस्था रहेछ । त्यस अवधिमा नेपाली नागरिकता र नेपाली राहदानी पनि साथसाथै राखी प्रयोग भइरहेको देखिन्छ । कानुनतः यस्तो कार्य गर्न मिल्दैन । दुई देशमध्ये कुनै एक देशको मात्र नागरिकता र राहदानी प्रयोग गर्न पाइन्छ । एनआरएनको हैसियतमा रहने हो भने नेपालको संविधानले राजनीति गर्न अनुमति दिएको छैन । त्यसैले यी दुईवटा नागरिकता र राहदानी लिने काम अनुपयुक्त र गैरकानुनी हो ।
आफ्नै सहपाठी पत्रकार मित्र शालिग्रामजी आफूलाई आत्महत्या गर्नेसम्मको अवस्थामा रविजीले पु¥याएको आरोप लगाउँदै मर्नुपूर्व उनले रेकर्ड गरेको सन्दर्भ सबैलाई स्पष्ट छ । यद्यपि, रविजीलाई चितवनका जनताको मायाले र अदालतले राहत दिएको अवस्था छ । विवादमा यस प्रकारले पनि रविजीलाई राम्ररी तानेको अवस्था छ ।
निर्वाचन प्रचारप्रसारको सिलसिलामा आफ्नो गाडी हाक्ने चालक रविजीकै चितवनको चितवनस्थित निवासमा मृत अवस्थामा फेला परेको यथार्थता सबैलाई विदितै छ ।
नेपालको नागरिक रविजी हुन् कि होइनन् ? भन्ने सन्दर्भमा मामिला अदालतमा पुगी अदालतले नेपाली नागरिक नभएको निष्कर्ष निकालेकै हो । यद्यपि, अदालतले उनलाई नेपाली नागरिकता प्राप्त गर्ने सहुलियत प्रदान गरेको थियो । त्यहीअनुरूप रविजीले पुनः नागरिकता प्राप्त गरेका हुन् । तर, अमेरिकी नागरिकता उनले विधिवत परित्याग गरेका हुन् होइनन् ? परित्याग गरेको अवस्थामा पनि दुई देशका नागरिकता र राहधानी लिएर हिँड्नु गैरकानुनी हुन्छ । यस सन्दर्भमा सम्मानित अदालतले आफ्नो निर्णय दिने नै छ ।
दोस्रोपटकको निर्वाचनमा रविजीले चितवनका जनताको अत्यन्त ठूलो समर्थन र सहयोग प्राप्त गर्नुभयो । यसका पछाडि रविजीले दिनुभएको नारा नो नट एगेनले ठूलो काम गरेको थियो । पुराना राजनीतिज्ञहरूले रविजीलाई दुःख दिएको अर्थमा चितवनका मतदाताले लिएकाले सत्तालाई र पुराना राजनीतिज्ञलाई आफ्नो हैसियत देखाइदिएका हुन् । यस अर्थमा रविजी चितवनका जनताको आशाका केन्द्र बन्न पुगे ।
चितवनले दिएको अपार समर्थनबाट प्रोत्साहित भएका रविजीलगायतका राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा बारा र तनहुँ दुवै क्षेत्रमा पनि आफ्नो उम्मेदवारी दिएको थिए । बारामा पराजय भोग्नुप¥यो । भने तनहुँमा डा. स्वर्णिमले विजय हुने अवसर पाउनुभयो । उपनिर्वाचन समेतको परिणामले २१ सिटको राष्ट्रिय राजनीतिक दलका रूपमा संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीको गरिमामय उपस्थिति रहन पुग्यो । यसबाट नेपाली जनताले यस पार्टीबाट धेरै प्रकारका आशा र अपेक्षा र सुशासनको परिकल्पना गरेका थिए ।
अप्रत्यासित रूपमा प्रचण्डजीले आफ्नो गठबन्धन तोडेर एमालेसँग तालमेल गर्दै नयाँ सरकार गठन गर्नुभयो । त्यसमा ओलीजी र प्रचण्डजीको सारथीका रूपमा रविजी प्रस्तुत हुन पुग्नुभयो । यसैबाट सचेत नागरिकहरूमा रविजीप्रति शंका उपशंका गर्ने अवस्था बन्दै गयो तथापि, रविजीलगायत अन्य स्वतन्त्र पार्टीका मन्त्रीहरू र समग्र राजनीतिक दलको सरकारमा के कस्तो खालको भूमिका र प्रभाव पर्ने हो ? कसरी कार्यसम्पादन गर्दै रविजीको टिम अघि बढ्ने हो ? सोको परीक्षण गर्ने अवस्थामा पुगेका हुन् ।
विजीलाई भावी दिनमा भ्रष्टाचारको अन्त्य गर्ने र देशको आर्थिक समृद्धि एवं सुशासनको दिशामा अघि बढ्ने सत्पात्रका रूपमा प्रस्तुत हुन कठिन हुनेछ
रविजी सरकारमा सामेल भएपश्चात् उनी विवादमा तानिँदै गए । रविजी प्रबन्ध निर्देशक र सञ्चालक रहेको गोर्खा मिडियामा विभिन्न सहकारीबाट रविजी समेतका नाउँमा रकम प्रवाह भएको तथ्यहरू सार्वजनिक हुँदै गए र संसदले यी विषयहरूमा छानबिन गर्न संसदीय छानबिन समिति नै गठन गरेर हाल छानबिन भइरहेको अवस्था छ । रविजी आफंै सञ्चालक रहँदा उक्त मिडियामा विभिन्न सहकारीमार्फत भित्रिएको अवैध रकम’बारेमा उनी अनभिज्ञ थिए भन्ने विश्वास गर्ने आधार देखिएन निर्णय समितिबाट जे जस्तो आए तापनि सर्वसाधारण सचेत नागरिक यस विषयमा रविजी अनविज्ञ हुनुभएको विश्वास गर्न सक्ने अवस्थामा देखिँदैनन । छानबिन जारी छ । सबैभन्दा ठूलो विषय जुन जुन शक्तिहरूले देशलाई तहसनहस बनाई र यिनै शक्तिहरूलाई कानुनी कठगरामा ल्याउने दृढताका साथअघि बढेका रविजीले यिनै बदनाम स्थापित पुराना दलहरूसँग गठजोड गर्दै सत्ताको चास्नीमा डुबेको भन्दा दृश्य नेपाली नागरिकहरूका लागि स्वीकार्य भएको थिएन ।
त्यसमा पनि रविजीले प्रचण्डजी र ओलीजीकै शासकीय शैलीलाई पूर्ण रूपमा अनुसरण गर्दै अघि बढे । कथनी ज्यादा काम कारबाही नगन्य हुँदै गर्दा रविजीप्रतिको मतदाताहरूको विश्वास मा प्रश्न चिह्न खडा हुने अवस्था बनेको छ । यही अवस्थामा रविजीले ठूला भ्रष्टाचारीहरूलाई खासै कारबाही गर्न सक्नुभएन । कारबाहीमा परेकाहरूलाई पनि सरकारसँग करुणा हुन्छ । जस्ता अभिव्यक्ति दिई उन्मुक्ति दिने काम हुँदै गयो । गिरिबन्धु टि स्टेटको विवादमा सम्मानित सर्वोच्च अदालतले सरकारी सम्पत्तिको संरक्षण गर्नेगरी स्पष्ट निर्णय दिएकोमा पुनः व्यक्तिलाई नै सो सम्पत्ति सुम्पने गरी कानुन संशोधनका लागि संसदमा पेस हुँदा रविजीले पनि यो विधेयकलाई समर्थन जनाई महाभुल गर्नुभएको छ ।
यसबाट रविजीलाई भावी राजनीतिमा अघि बढ्न र आफ्नो छवि सुधार्न अत्यन्त कठिन भएको अवस्था छ । किनकि, गिरिबन्धु स्टेटमा रविजीले त्यसका अपराधीहरूलाई कानुनको कठघरामा खडा गरी कारबाही गर्नुपर्ने थियो । तर, उल्टो ठीकविपरीत यो अपराधलाई कानुनै बनाई सरकारी सम्पत्ति समाप्त पार्ने अपराधमा मतियारका रूपमा रविजी र उनको राष्ट्रिय स्वतन्त्र दललाई समेत नराम्ररी गलत दिशामा परिचालन गर्नुभएको अवस्था छ । यी क्रियाकलापहरूले गर्दा रविजीलाई भावी दिनमा यस देशमा भ्रष्टाचारको अन्त गर्ने र देशको आर्थिक समृद्धि एवं सुशासनको दिशामा अघि बढ्ने सत्पात्रका रूपमा आफूलाई प्रस्तुत गर्न अत्यन्त कठिन हुनेछ ।
निष्कर्ष
राजनीतिमा असम्भव केही हुँदैन । प्रचण्डजीको राजनीतिक साख घट्दो छ । आगामी निर्वाचनमा ठूला दुई दलमध्ये कुनै एकसँग गठबन्धन नगरी निर्वाचनमा जाँदा उहाँको दलको दयनीय अवस्था हुने अनुमान भइराखेको छ । त्यसैले प्रचण्डजी फेरि पनि सरकारमा सामेल हुने र कुनै एक दलको गठबन्धनबाट निर्वाचनमा गई आफ्नो अस्तित्व केही हदसम्म जोगाउन प्रयत्नशील रहनुहुनेछ । यो रणनीतिमा प्रचण्डजी असफल हुने सम्भावना छ यो स्थिति आउँदा प्रचण्डजीको राजनीतिक दल स्वतन्त्र हैसियतमा परिणत हुने सम्भावना प्रबल छ ।
देशले राम्रो नेताको खोजी गरिराखेको छ हालसम्म राजनीतिक बजारमा जनताले सहजै विश्वास गर्न सक्ने नेता र राजनीतिक दल प्राप्त गर्न सकेका छैनन् । रविजीबाट गरिएको आशामा प्रश्न चिह्न खडा भएको छ स्थापित पुराना तीनवटा दलहरूले हालसम्मको शासकीय शैलीलाई निरन्तरता दिँदै देशलाई दोहन गर्ने मार्ग मात्र अवलम्बन गर्ने हुन् । त्यसैले अब यस देशको भविष्य अहिले वर्तमान अवस्थामा राजनीतिक बजारमा देखिएका दल र पात्रबाट सम्भावना देखिएको छैन । कुनै दिन जनताबीचबाट एक राजनेताको अभ्युदय हुनेछ र उसैले नेपालको असल भविष्यको मार्गदिशा निर्दिष्ट गर्दै अघि बढ्ने आशा मात्र वर्तमान अवस्थामा गर्न सकिन्छ । यसका लागि देशका सचेत नागरिकहरूले अर्थपूर्ण दबाब सिर्जना निरन्तर रूपमा गर्नुपर्ने र एकपटक राजनीतिक दलहरूको अभावमा स्वत स्फूर्त आन्दोलन नागरिकहरूकै तर्फबाट अघि बढ्नु आवश्यक हुन्छ । यसको उदाहरण हङकङमा भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा नागरिकहरूका तर्फबाट भएको आन्दोलनले प्राप्त गरेको सफलताबाट धेरै कुराहरू सिक्न सकिन्छ । राजधानी