काठमाण्डौः ‘मल्टी मिडिया’ दुनियाँमा ‘भीएफएक्स’ प्रयोग सामान्यजस्तै भइसक्यो । अब त ‘एआई’ युग सुरु भइसकेको छ ।
यही परिप्रेक्ष्यमा नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्जले ‘एआई’ अर्थात् ‘आर्टिफिसियल इन्टिलिजेन्ट’ प्रविधि उपयोगसहित म्युजिक भिडियो ल्याएको छ । सम्भवतः नेपाली म्युजिक भिडियो इतिहासमा यही नै पहिलोपटक ‘एआई म्युजिक भिडियो’ हो । विवेक पोखरेलको शब्द, ग्रार्मी अवार्ड नोमिनेसनमा पर्न सफल मनोज सिंहको बाँसुरी गीतमा साश्वत श्रेष्ठले मिक्सिङ र निर्माण गरेका हुन् ।
सन् २००८ मा सार्वजनिक द भाइब्ज ‘जेनरेसन’ एल्बममा समावेश सोही चर्चित गीत ‘एआई जेनरेसन’केन्द्रित गरेर निर्माण गरिएको हो । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा समेत ख्याति बटुलिसकेको नेपाली सांगीतिक समूह द भाइब्जले ‘थाकिसकें…’माथि एआई प्रविधि प्रयोग गरेको छ । राष्ट्रिय टेलिभिजनमार्फत आइतबार सार्वजनिक गरिएसँगै नेपाली टेलिभिजन इतिहासमा समेत पहिलोपटक प्रसारित ‘एआई म्युजिक भिडियो’ बनेको छ ।
एआईलाई दिइएको निर्देशनको आधारमा निर्मित भिडियोमा युवायुवतीबीचको प्रेमविछोडको मार्मिक कथा बुनिएको छ । ‘इनडोर–आउटडोर’ तथा कफी सपदेखि गाउँ–सहरका परिवेश भिडियोमा सलल बगेको छ । भिडियो हेरुञ्जेल लाग्दैन कि यो ‘एआई क्रियसन’ हो । सवारी साधन चलाइएका, उपत्यकाका सांस्कृतिक सम्पदा, आगोका लप्का र एआई कलाकारका भावावेश कथानक लाग्छ ।
सांगीतिक समूह द भाइब्जका अनुसार मिडजर्नी, रनवेएमएल, लुमाएआई, किङएआई, टोपाज भिडियोएआईलगायत सङ्खटवेयर प्रयोग गरिएको म्युजिक भिडियोमा प्रइनको एआई निर्देशन, सम्पादन र कलर ग्रेडिङ रहेको छ ।
भोकलिस्ट प्रइन सिंह, ड्रम्समा दिरेकलाल श्रेष्ठ, गितारमा रूपक लामा र बाँसुरीमा मनोज सिंह रहेको ब्यान्डको ‘निर्मोही, तस्बिर तिम्रो, काठमाडौं सिटी’जस्ता चर्चित गीत ल्याइसकको छ ।
त्यसो त, प्रयोगात्मक संगीत सिर्जना गर्न रुचाउने भाइब्ज समयसापेक्ष प्रविधि प्रयोगमा अघि नै देखिन्छ । दशकअघि नै ‘थाकिसकें…’ गीत १० हजार डलर लागतमा क्यालिफोर्नियाका विभिन्न स्थानमा छायांकन गरी सार्वजनिक गरिएको थियो ।
त्यतिबेला नेपालकै सर्वाधिक महँगो म्युजिक भिडियोका रूपमा रहेको गीतको पुरानो भिडियोमा शैलेन्द्र डि कार्कीको निर्देशन तथा छायांकन रहेको छ । यो गीतले सन् २००९ को ‘इमेज अवार्ड’ तथा ‘हिट्स अवार्ड’अन्तर्गत ‘बेस्ट ब्यान्ड अफ द इयर’ अवार्डसमेत जित्न सफल भएको थियो ।