काठमाडौँ, २७ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कामु प्रधान सेनापति अशोक सिग्देलसँग छलफल गर्नुभएको छ ।
मन्त्रालयमा आयोजित छलफलका क्रममा नेपाली सेनाका अधिकारीहरुले तालिम र व्यवस्थापन, अवलम्बन गरेका असल अभ्यासका विषयमा विचार विमर्श भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपाली सेनाले भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्नका लागि ठाउँठाउँमा मौसमी सूचनाबारे जानकारी लिन आधुनिक प्रविधि जडान गर्नुपर्नेलगायत विषयमा पर्यटनमन्त्रीलाई सुझाव दिएको छ ।
एक महिनाभित्र एउटा विमान र एउटा हेलिकप्टर दुर्घटना भएपछि पर्यटनमन्त्रीले हवाई सुरक्षाबारे रक्षामन्त्री, कामु प्रधान सेनापतिका साथै दुई मन्त्रालयका सचिवहरूसँग सामूहिक छलफल गरी राय सुझाव लिनुभएको हो ।
नेपाली सेनाको हवाई सेवा उत्कृष्ट रहेकाले गैरसैनिक हवाई उडानलाई कसरी सुरक्षित पार्न सकिन्छ भन्ने विषयमा मन्त्री पाण्डेले सुझाव माग्नुभएको थियो । हालै भएका हवाई दुर्घटनाको छानबिन समिति गठन भएको भए पनि अध्ययन प्रतिवेदन भने आउन बाँकी रहेको छ । अनुभव आदानप्रदान गर्ने क्रममा नेपाली सेनाका अधिकारीहरुले हवाई सुरक्षाका लागि सम्पूर्ण प्रणाली र नियम कानुनको कमी नभएको तर कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएको थियो ।
नेपाली सेनाको हवाई सुरक्षाका सन्दर्भमा आफ्नै निर्देशिका भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईसीएओ) को गाइडलाइन फलो गर्न नपरेको प्रष्ट पारेको छ । त्यसैगरी धेरै उडान हुने ठाउँमा हेलिप्याड बनाउनुपर्ने, नगारिक उड्डयन प्राधिकरण (क्यान), अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) र नेपाली सेनाको संयुक्त समिति बनाएर हवाई सुरक्षाका सन्दर्भमा नियमित छलफल, अध्ययन, अनुसन्धान र अनुगमनमा जोड दिनुपर्ने विषयमा सुझाव दिइएको मन्त्रालयले जनाएको छ ।