काठमाण्डौः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधी उद्योगीका समस्या समाधानमा आफू सकारात्मक रहेको बताउनुभएको छ ।
उहाँले सरकार र औषधी उद्योगी एक अर्काका प्रतिद्वन्द्वी नभएको भन्दै उद्योगीका समस्या समाधान गर्न नीतिगत सुधार गर्न आफू तयार रहेको बताउनुभयो । नेपाल औषधी उत्पादन सङ्घ (एपोन) को ३० औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले औषधी उत्पादकका मागलाई आफूले सकारात्मक रूपमा लिएको बताउनुभयो ।
उहाँले नेपालमा उत्पादन गर्न सकिने औषधीमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । आफू स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्नुपर्ने पक्षमा रहेको बताउँदै उहाँले स्वेदशी उत्पादनबाट सस्तो, गुणस्तरीय र सर्वसुलभ औषधी कसरी दिन सकिन्छ भन्ने विषयमा सोच्न उद्योगीलाई आग्रह गर्नुभयो । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले धेरै उद्योगीले एउटै खालको औषधी उत्पादन गर्दा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले औषधीलाई गुणस्तरमा सम्झौता गर्ने कार्य रोक्न आग्रह गर्नुभयो । उहाँले जनताको भलाइलाई केन्द्रमा राखेर औषधी उद्योगसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
नेपाल औषधी उत्पादक सङ्घ (एपोन) का अध्यक्ष महेश प्रधानले नेपाली औषधी उद्योग धराशायी बन्दै गएको बताउनुभयो । उहाँले नेपालका औषधी उद्योगमा ७०/८० अर्ब लगानी भए पनि लगानी अनुसार प्रतिफल भने आउन नसकेको बताउनुभयो । ४० वर्षपहिले औषधी उद्योग खोल्ने लहर भए जस्तै अहिले निरन्तर बन्द हुने क्रम चलिरहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उद्योगको क्षेत्रमा औषधी उद्योग प्रमुख उद्योगको सूचीमा रहेको बताउनुभयो । कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसाल, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्की, निजी अस्पताल सञ्चालकको संस्था अफिनका अध्यक्ष डा. पदम खड्कालगायतले आआफ्नो धारण राख्नुभएको थियो । गोरखापत्र