काठमाण्डौः चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता भएको छ ।
राष्ट्रपति सी सहित चिनियाँ प्रतिनिधिमण्डल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा सचिवालय सदस्यहरुबीच सोल्टी होटलमा सामूहिक भेटवार्ता भएको हो ।
आईतबार बिहान साँढे दस बजे राष्ट्रपति सीले सचिवालय सदस्यहरूसँग सामूहिक भेट गरेका हुन् । भेटवार्तामा दुई देश र दुई कम्युनिस्ट पार्टीको पारस्परिक हित प्रवर्द्धनका विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।
भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बाहेक नेकपाका सचिवालय सदस्यहरू सबै जनाको उपस्थिति रहेको थियो । सामूहिक भेटवार्ता लगत्तै राष्ट्रपति सी र प्रचण्डबीच केहीबेर वान टु वान वार्ता समेत भएको थियो ।
दुई दिने नेपालको राजकीय भ्रमणमा आएका सी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ ।