काठमाण्डौ: प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (बिप्लप) ले आफ्ना उच्च तहका नेता कार्यकर्ता गिरफ्तार गरेको विरोधमा देशभर चरणबद्ध संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।
नेकपा बिप्लप पार्टीका मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग सहित २१ जना नेता तथा कार्यकर्ताहरू गिरफ्तार गरेको विरोधमा सो पार्टीले देशभर संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
गोप्य सूचनाको आधारमा प्रहरीको बिशेष टोलीले दाङको राजापुर–४ मुंग्रेटा खोला स्थित चुरे जंगलमा नेकपा राप्ती ब्यूरोको बैठक बसिरहेको बेला उनीहरूलाई गत बिहीबार मध्यराती १ बजे नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेहरूमा प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवका दाजु समेत रहेका छ्न् ।
सरकारले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको बिरोधमा चरणबद्ध कार्तिक १७ गते सम्मका घोषित संघर्षका कार्यक्रमहरु यस्ता रहेका छ्न् :
– २०७६ कार्तिक ३ गते जुलुस र प्रदर्शन ।
– २०७६ कार्तिक ५ गते कोणसभा र पिंढीसभा ।
– २०७६कार्तिक ७ गते ओलीको पुत्ला दहन ।
– २०७६ कार्तिक ९ गते विरोध प्रदर्शन ।
– २०७६ कार्तिक १५ गते मसाल जुलुस ।
– २०७६ कार्तिक १७ गते आइतबार बिहान १००० बजेदेखि ११०० बजेसम्म एकघण्ट चक्का जाम गर्ने ।