काठमाण्डौ : तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका (सीके राउत) निकट ४ जनालाई जिल्ला अदालत सप्तरीले सफाइ दिएको छ।
गत बर्षको माघ ५ गते पोस्टर टाँस्ने कार्यमा स्थानिय बालबालिकालाई प्रयोग गरेको आरोपमा सप्तरी प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो।
उनीहरुले मधेशी जागरणको हितको लागि कार्यक्रम गरेको तर छुट्टै स्वतन्त्र राज्य बनाउन सक्रिय नभएको प्रष्ट् भएपछि अदालतले चारै जना कार्यकर्तालाई सफाइ दिएको हो।
आरोपित सुशिल मण्डल, श्यामकुमार यादव, सरोजकुमार यादव र अविनाश पण्डितलाई जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले सफाइ दिएको बताईएको छ ।
बालबालिकालाई प्रलोभनमा पारी फ्रि मधेस लेखिएको व्यानर टाँस्ने कार्यमा सहभागी गराएको भन्दै सप्तरी प्रहरीले बालबालिका ऐन २०७५ अन्तर्गत बालबालिका दुरुपयोग कसुर मा उनीहरुलाई कारवाही गरेको थियो।
यता प्रहरीले भने नेपालबाट छुट्टै अलग मधेश राज्य बनाउन सक्ने सम्मको क्रियाकलाप उनीहरुबाट भएको भन्दै आएतापनि प्रहरीको अभियोग दावी नपुग्ने भएपछि सफाइ दिने फैसला अदालतले गरेको हो।
यसअघि आरोपितहरु फागुन १२ गते धरौटी रकम बुझाएर रिहा भएका थिए।