काठमाण्डौ: काँग्रेसले ढिला गरी मनोनयनको अघिल्लो दिन प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ ।
काँग्रेसको पदाधिकारी बैठकले एक प्रतिनिधिसभा र तीन प्रदेशसभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको हो ।
काँग्रेसको दुई दिनसम्म बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा क्षेत्र कास्की-२ मा पुराना नेता खेमराज पौडेल, प्रदेशसभा अन्तर्गत बागलुङ-२ मा जित शेरचन, दाङ-३ (२) मा केशव आचार्य र भक्तपुर–१ (१) मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
मंगलबार बिहानैदेखि सभापति निवाश बुढानिलकण्ठमा उम्मेदवारको नाम छनौट गर्न पदाधिकारी बैठक बसेको थियो । सभापति देउवालाई उम्मेदवार छान्न एकलौटी जिम्मेवारी त्यतीबेला दिइयो जतिबेला कास्कीमा कसलाई उम्मेदवार बनाउने भन्नेमा विवाद बढ्यो ।
पुर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको निधनपछि रिक्त उक्त क्षेत्रमा वरिष्ठ नेता पौडेल र सिटौलाले देवराज चालिसेलाई उम्मेदवार बनाउनुपर्ने अडान लिएका थिए । केन्द्रीय सदस्य धनराज गुरुङको नाम सभापति देउवाले अघि सारेका थिए । स्याङ्जा घर भएका गुरुङलाई अघि सारिएपछि पौडेल अप्ठ्यारो परेको थियो ।
सिटौलाले अघिल्लो पटक उम्मेदवार भएकाले नचाहेमा मात्रै अर्को उम्मेदवार खोज्नुपर्ने तर्क दिएका थिए ।
बुधबार बिहान नेता धनराज गुरुङले पदाधिकारी बैठकमै आफ्नो नाममा नेताहरूबीच विवाद भएपछि आफू प्रतिस्पर्धी नरहेको सामाजिक संजालबाट बताएका थिए । त्यसपछि सभापति देउवाले खेमराज पौडेललाइ तथा वरिष्ठ नेता पौडेल र सिटौलाले देवराज चालिसेलाई उम्मेदवार बनाउने अडान कायमै राखेका थिए ।
स्रोतका अनुसार सो बैठकमा पौडेल र सिटौला ‘जित हारको जिम्मेवारी लिने गरी उम्मेदवारको निर्णय लिनुहोस्’ भन्दै उम्मेदवार छान्न पदाधिकारीहरूले सभापतिलाई एकलौटी अधिकार दिएर बाहिरिएको बताइएको छ ।