काठमाण्डौ: उपकुलपति नरहने व्यवस्था सहितको विश्वविद्यालय मुलुकमा पहिलोपटक स्थापना हुने भएको छ ।
विश्वविद्यालय स्थापनाको लागि सरकारले ऐनको मस्यौदा संघीय संसदमा पेश गरिसकेको छ । उपकुलपति नरहने गरी ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय’ खुल्न लागेको हो । सो विश्वविद्यालय हाल सञ्चालनमा रहेकाभन्दा भिन्न संरचनाबाट सञ्चालन हुनेछ ।
विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक पर्ने उच्चतम जनशक्ति उत्पादन गर्ने, नविन खोज गर्ने उद्देश्य विश्वविद्यालयको छ । तर विज्ञान तथा प्रविधि विश्वविद्यालय भनिए पनि यहाँ कानुन तथा न्याय, व्यवस्थापन, सामाजिक शास्त्र लगायतका सङ्कायको पनि पढाइ हुनेछ ।
दुई वर्षभित्रमा पढाइ सञ्चालन गर्ने गरी विश्वविद्यालय स्थापना प्रक्रिया सुरु गर्ने लक्ष्य रहेको विश्वविद्यालयले जनाएको छ ।
