काठमाण्डौः मन्त्रिपरिषद्को बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले बिहीबार अनुमोदन गरेसँगै १९औँ एशियन गेम्समा पदक विजेता, क्रिकेट टोली र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्।
आईसीसी पुरुष टी-२० वर्ल्ड कप फाइनल एशियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टोलीले २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देसाईंले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पार्नेछन्।
१९औँ एशियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्यले १ लाख ९५ हजार प्राप्त गर्नेछन्। एशियन गेम्समा रजत विजेता कराते टोलीले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछन्।
एशियाली खेलकुदमा नै कबड्डीमा कांस्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टोलीका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्नेछन्। यसरी कबड्डी टोलीले ४८ लाख १० हजार नगद प्राप्त गर्नेछन्।
यसैगरी, चौथो एशियाली पारा खेलकुद २०२२ मा कांस्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन्।