काठमाण्डाैंः नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.-२ स्थित लिदीमा शुक्रबार गएको पहिरोमा परि हराइरहेका व्यक्तिहरुको खोजी कार्यलाई जारी राखेको छ ।

सिन्धुपाल्चोक स्थित नेपाली सेनाको गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दा लगायत अन्य निकायहरुको सहयोगमा हालसम्म चार जना महिला, तीन जना पुरुष, पाँच जना बालिका र सात जना बालक गरि जम्मा १९ जनाको शव फेला पारेको जनाएको छ ।

सेनाले उक्त पहिरोमा परि हराइरहेका २० जनाको खोजी कार्य जारी राखेको छ । श्रावण ३० र ३१ गते नेपाली सेनाको एमआई–१७ हेलिकप्टरद्वारा खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामग्री ढुवानी गरी उक्त स्थानमा पुर्याएको छ ।

स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ४७ जना खोज तथा उद्धार कार्यमा खट्टिइरहेका छन् ।



