काठमाण्डौः शिक्षा मन्त्रालयले ढिलै भएपनि राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बुधबार शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी शिक्षक दरबन्दी मिलान सहित शिक्षा नीति सार्वजनिक गरेका हुन् ।
उक्त पत्रकार सम्मेलनमा नीतिको मुख्य दस्तावेज वितरण गरिएको थियो । मन्त्रि पोखरेलले गत कात्तिक २१ गते पत्रकार सम्मेलन गरेरै नीति प्रमाणिकरण भएको भन्दै केही बुँदा सार्वजनिक गरेका थिए । तर, मुख्य दस्तावेज विनै बुँदा मात्रै सार्वजनिक गरेको भन्दै आलोचना भएको थियो ।
उक्त पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले शिक्षक दरवन्दी तथा राहत अनुदान कोटाको बाँडफाँड तथा पुनर्वितरण गरेको जानकारी दिए । उक्त निर्णयसँगै अब देश भरका १ सय २३ स्थानीय तहबाट ४ हजार ८ सय ५२ दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने छन् ।
त्यस मध्ये १४ जिल्लाको ३ हजार ३ सय ५९ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण हुनेछ । त्यसै गरी १५ जिल्ला भित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा १ हजार ४ सय ९३ दरबन्दी तथा राहत अनुदान कोटा मिलान हुनेछ ।
उल्लेख भएको संख्या मध्ये एक प्रदेशवाट अर्को प्रदेशको स्थानीय तहमा हस्तान्तरण हुने दरबन्दी तथा राहत अनुदान कोटाको संख्या १ सय ५ रहेको मन्त्री पोखरेलले जनाएका छन् ।
राष्ट्रिय शिक्षा नीति हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
