काठमाण्डौंः साहित्यकार स्वर्गीय तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” आज सार्वजनिक गरिएको छ ।
स्वर्गीय कोइरालाले चार दशक अघि आफ्नो जेल जीवनमा लेख्नुभएका डायरीबाट उतारेर उहाँको परिवारले उक्त उपन्यास प्रकाशित गरेको हो । स्वर्गीय कोइरालाका सुपुत्र स्वर्गीय ज्योति प्रसाद कोइरालाको निवास बौद्धमा आज आयोजित कार्यक्रममा उक्त उपन्यास लोकार्पण गरिएको छ।
कार्यक्रममा स्वर्गीय ज्योति प्रसाद कोइरालाको “मैले देखे भोगेका कुरा” नामक आत्मकथा समेत लोकार्पण गरियो । कार्यक्रममा स्वर्गीय तारिणीप्रसाद कोइरालाकी बुहारी इन्दिरा कोइरालाले स्वर्गीय कोइरालाका अप्रकाशित कृतिहरू प्रकाशित गर्दै जाने प्रतिबद्धता व्यक गर्नु भयो ।
रेडियो नेपालका संस्थापक समेत रहनुभएका स्वर्गीय तारिणीप्रसाद कोइरालाका रातो स्वेटर, सर्प दंश, फालिएको सामान, अग्निवाटिका, नैनी (महाकाव्य), तारिणीका कविता र तारिणीका कथा कृतिहरू यसअघि नै प्रकाशित छन् ।